बंगलादेशमा फेरि चर्कियो प्रदर्शन, आइतबार मात्र ९० भन्दा बढीको मृत्यु

68

काठमाडौँ — बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन चर्किएको छ । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुन: चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९१ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ ।

‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ-ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

सिराजगन्जस्थित इनायतपुर प्रहरी स्टेसनमा आक्रमण हुँदा १३ जना प्रहरीको मृत्यु भएको छ । आइतबार दिउँसो केही व्यक्तिको समूह आएर प्रहरी चौकीमा आक्रमण गरेको बताइएको छ । ड्युटीमा रहेका १३ प्रहरीलाई कुटिकुटी मारिएको ढाका ट्रिब्युनले जनाएको छ । केही ठाउँमा सत्तारुढ दल अवामी लिगका कार्यकर्ता र प्रदर्शनकारी विद्यार्थीबीच पनि झडप भएको छ । केही ठाउँमा अवामी लिगका कार्यकर्ता र नेताहरूको समेत मृत्यु भएको छ ।

नरसिंगडी जिल्लामा अवामी लिगका ६ कार्यकर्ताको मृत्यु भएको छ । ढाकाका विभिन्न क्षेत्रमा भएको प्रदर्शनका क्रममा केही विद्यार्थीसहित ८ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै लक्ष्मीपुरमा ८ जनाको मृत्यु भएको छ । त्यस्तै सिल्हेटमा छात्र लिग, आन्दोलनकारी विद्यार्थी र प्रहरीबीच भएको झडपमा ५ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा विद्यार्थीहरू सरकारी जागिरमा आरक्षणको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् । पछिल्लो पटक उनीहरूको ‘एकसूत्रीय’ माग नै सरकारको राजीनामा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएको छ । आन्दोलनका क्रममा मृत्यु भएका २ सयभन्दा बढी सहपाठीको न्यायका लागि भन्दै विद्यार्थीहरू पुन: सडकमा उत्रिएका हुन् । रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू