काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउन राज्यको सम्पूर्ण शक्ति खनिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कुलमानले आफूलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरूले नै संसद्को रोस्ट्रम प्रयोग गरेको बताएका हुन् । उनको संकेत संसद्मा आफ्नो आलोचना गर्ने ऊर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति थियो ।
‘नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो ? कस्को स्वार्थ र सेवामा ममाथि जाइलागेको थियो भन्ने विषयमा नेपाली जनता आफैं प्रस्ट हुनुहुन्छ । प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरूले नै सार्वभौम संसद्को रोस्ट्रम कसरी सदुपयोग वा दुरुपयोग गरे ? नेपाली जनता आफै प्रत्यक्षदर्शी हुनुहुन्छ,’ उनले भने ।
घिसिङले सार्वजनिक संस्थाको बक्यौता रकम उठाउन खोज्दा सरकारले आफूलाई पदबाट बर्खास्त गरेको समेत जिकिर गरे ।
उनका अनुसार डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल उठाउन खोज्नु नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको जनाउँदै उनले बक्यौता नउठाउने गरी आएका दबाब र आग्रहलाई स्वीकार नगर्दा पदबाट हट्नुपर्ने अवस्था आएको जनाएका हुन् ।
‘बक्यौता रकम नउठाउने गरी आएका दबाब र आग्रहलाई मेरो कर्तव्यले स्वीकार गर्न सकेन। संस्था र राज्यप्रति घात गर्न मेरो नैतिकताले दिएन,’ उनले भने, ‘यसकारण बक्यौता उठाउने मेरो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो।’
आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट बिदा भए पनि नागरिकका रूपमा आफ्नो काम र कतर्व्य कहिल्यै नभुल्ने पनि उनले बताए । ‘नेपाली जनताले दिएको स्नेह र आशिर्वादले मलाई हार्न दिएको छैन । म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, एक जिम्मेवार नागरिकको रूपमा मेरो काम, कर्तव्य र अभिभारा कहिल्यै कम हुने छैन,’ उनले भने ।
आफू सरकारको पछिल्लो कदमबाट उत्तेजित र हतोत्साही नभएको पनि उनको भनाइ छ । ‘एक इमानदार राष्ट्रसेवकका रूपमा मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन, अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन,’ उनले भने ।