(काठमाडौं) – नेपालको चार दिने भ्रमण सकेर बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद शुक्रबार स्वदेश फर्किएका छन्। उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाई गरिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरेकी हुन्।
उनको बिदाइका निम्ति गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पनि उपस्थित थिए । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो ।
उनको स्वागतमा झैँ बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकाले नेपाल र बङ्गलादेशको झण्डा फ¥हराएर विशिष्ट पाहुनालाई बिदाइ गरेका थिए । मंगलबार काठमाडौं उत्रेका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका थिए। राष्ट्रपति हमिद बुधबार राजनीतिक भेटघाटमा व्यस्त रहे।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गरेकी थिइन् ।
भ्रमणका क्रममा बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।
यसअघि उनले बिहीबार पोखरा भ्रमण गरेका थिए। उनले पोखरा र आसपासको दृश्यावलोकन गरेका थिए।
पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिम शृङ्खलालाई राष्ट्रपति हमिद चाखका साथ अवलोकन गरे।
आज उनको काठमाडौंको चन्द्रागिरी भ्रमण गर्ने कार्यक्रम रहेता पनि स्वास्थ्यमा समस्यमा आएपछि उनको भ्रमण रद्द भयो। राष्ट्रपति हमिदको नेपाल भ्रमण दलमा रहेका ३५ सदस्यले भने चन्द्रागिरी भ्रमण गरे।