काठमाडौं – यस पटकको बजेट निर्माणमा पनि पूर्वनायब सुब्बा (नासु) लाई संलग्न गराइएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्नचिन्ह खडा भएको छ ।
आगामी वर्षका लागि प्रस्तुत बजेटका करका दर हेरफेरमा पूर्वनासु श्रेष्ठको संलग्नता रहेको समाचार अनलाइन खबर डटकमले प्रकाशित गरेपछी यो बिषय चर्चामा आएको हो ।
समाचारमा भनिएको छ, ‘बजेट पेस हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा करका दर हेरफेरमा एक अवकाशप्राप्त नायब सुब्बा (नासु) को अनधिकृत संलग्नता रहेको पाइएको हो । उनकै सहभागितामा बिजुली गाडी, विलासी मोटरसाइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी करका दर हेरफेर भए, जसले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान भएको छ ।’
सरकारले भने पूर्वनासु रामकृष्ण श्रेष्ठ भन्सार विभागमा करारमा कार्यरत रहेको भन्दै आफ्नो प्रतिरक्षा गरेको छ । पूर्वकर्मचारीलाई अनुभवका आधारमा करारमा राखेर नियमित सहयोग लिने अभ्यास रहेको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
‘बजेटको निर्णय प्रक्रियामा उपसचिवभन्दा तलका कर्मचारीको सहभागिता रहँदैन । मन्त्री, दुई सचिव, आन्तरिक राजस्व विभागका विभाग प्रमुख, भन्सार विभागका प्रमुख, दुई उपसचिव बसेर निर्णय गरिएको हो । जे जे निर्णय गर्ने हो हामीले नै गरेका हौं,’ मन्त्री महतले भने, ‘तर, यो निर्णय कसै न कसैले टाइप त गर्न पर्यो नि । त्यो टाइप गर्ने काम रामकृष्ण श्रेष्ठले गरेका हुन् । उनी करारमा रहेका सरकारी कर्मचारी हुन् । हार्मोनाइज्ड सिस्टम (एचएस कोड) दर्ता गर्न उनको अनुभव छ । पोहोर, परार र त्यो भन्दा पहिलेदेखि नै त्यो काम उनैले गर्ने हो ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।