बझाङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

46

बझाङ – बझाङ जिल्लाको २ ठाउँमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

गए राती तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट अनियन्त्रित भइ करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।

उनका अनुसार गए राति ८:३५ मा तलकोट गाउँपालिका-२, सुकगाडमा भएको जीप दुर्घटनामा तीन जनाको घटना स्थलमै र आकृतिको जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा चालक केदारस्युँ गाउँपालिका-१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर धामी, तलकोट गाउँपालिका-४ कै ७२ वर्षीय जोगेनी देवी धामी र बम बहादुर धामीकी ५ वर्षीया छोरी आकृति धामी रहेका प्रहरीले जनाएका छन्।

यस्तै बझाङकै मष्टामा भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । मष्टाको भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप सडक अनियन्त्रित भइ  १०० मिटर तल खस्दा चालक मष्टाकै ४२ वर्षीय धर्म थापाको मृत्यु भएको हो ।

राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा दुर्घटनामा परेको जीपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू