बडा दसैं सुरु, आज घटस्थापना

4

काठमाडौं  – नेपालीहरूको महान् चाड विजया दशमी अर्थात् बडा दसैं सोमबार (आज) बाट सुरु भएको छ। १५ दिनसम्म धूमधामका साथ मनाइने यो पर्वको पहिलोदिन घरका पूजाकोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ।

पूजाकोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। बिहानै नित्य कर्म सकेर नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले पूजाकोठा वा दसैंघर लिपपोत गरिन्छ। त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यहीमाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यसको दिनलाई घटस्थापना भन्ने गरिएको हो। यस दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

घटस्थापनाको साइत बिहान १०ः२३ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समिति अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए। उनका अनुसार सूर्योदयकालमा प्रतिपदा भएका दिन घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले यस दिनलाई घटस्थापना भनी निर्णय गरेको हो।

समाचार वर्गहरू