काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बिमा कार्यक्रमका लागि मासिक दुई अर्बभन्दा बढी रकम खर्च हुने स्थिति आएकाले रकम भुक्तानी गर्न नसक्ने बताएकी छन्। गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले चालु आवमा बीमाका लागि छुट्याइएको रकम गत वर्षको ऋण तिरेर सकिएकाले चालू वर्षलाई बीमाका लागि बजेट नै नभएको बताइन्। उनले बिमाका लागि विनियोजित बजेटभन्दा बढी रकम बिमामा दाबी हुन थालेको बताइन्। असीमित खर्च हुँदै गएकाले बिमाको पुर्संरचना गर्न जरुरी रहेको उल्लेख गरिन्।
बिमालाई सुधार गर्न जरुरी रहेको बताउँदै मन्त्री गौतमले त्यसका लागि मन्त्रालयको काम गरिरहेको बताइन्। बिमाको भुक्तानी संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी हुने भनिए पनि संघ सरकारले मात्रै अहिलेसम्म हेरिरहेकाले बिमामा एकोहोरो बोझ परिरहेको तर्क गरिन्।
स्वास्थ्यकर कोषमा प्राप्त हुने रकम ऐनले नै २५ प्रतिशत स्वास्थ्य करलाई दिने भनेर किटेको भए पनि अहिलेसम्म प्राप्त गर्न नसकेको बताइन्। शर्माले भनिन्, ‘बिमामा जति बजेट विनियोजन गरिएको थियो, त्यो बजेटभन्दा धेरै बढी दाबी हुन थाल्यो। यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिर्दैमा ठिक्क भयो। महिनाको दुई अर्ब खर्च हुने स्थिति आयो।
त्यो दिनसक्ने अवस्था छैन। त्यसकारण बिमालाई सुधार गर्नुपर्ने अवस्था छ‚ त्यो गर्दै छौँ।’ मन्त्री गौतमले सुर्तीजन्य पदार्थमा उठेको रकममध्ये २५ प्रतिशत रकम प्राप्त गर्दा मात्रै पनि बिमाको आर्थिक संकट ठूलो हदसम्म अन्त्य हुने बताइन्।