(बाँके) – विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको संकटका बेला स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने एक सप्लायर्सलाई प्रहरीले कारबाही गरेको छ ।
अत्यावश्यक मेडिकल सामग्री बढी मूल्यमा बिक्री गर्ने नेपालगञ्ज उपमहानगरपालिका–१ धम्वोझी चोकस्थित हिल्स मेडि सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
अत्यावश्यक मेडिकल सामग्रीको अत्यधिक माग रहेको अवस्थामा बाँके जिल्लाका केही मेडिकल स्टोरले उक्त सामग्रीहरु बढी मूल्य राखी बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग मार्फत ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङलाई कानूनी कारबाहीको लागि पत्राचार गरिएको थियो ।
उक्त पत्राचारको आधारमा जिल्ला प्रशासन कार्यालय बाँके, वाणिज्य कार्यालय बाँके, उपभोक्ता हित संरक्षण मञ्च र प्रदेश ५ प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले हिल्स मेडि सप्लायर्सलाई कारबाही गरेको हो ।
हिल्स मेडि सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम बाणिज्य कार्यालय नेपालगंजले उक्त जरिवाना गरेको हो । साथै उक्त चोकस्थित कमला मेडिसिनलाई सचेत कालोबजारी नगर्न सचेत गराएको प्रहरीले जनाएको छ ।