काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ अवकाशपछि गृह जिल्ला तेह्रथुममा खेती किसानी गरिरहेका छन् । अस्ति रोयटर्स र हिजो बिबिसी लण्डनले चुनावको मुखैमा रणनीतिक हिसाबबाट सार्वजनिक गरेको डकुमेन्ट्रीमा सामेल भएका केही प्रसङ्गबारे सोधिएको जिज्ञासामा उनले ‘गम्भीर चालबाजी’ भन्ने प्रतिक्रिया जनाएका छन् ।
भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्टको विध्वंशमध्ये २३ गते दिउँसोको निश्चित समय र स्थानको मात्रै फोटो,भिडियो जोडेर बनाइएको डकुमेन्ट्री ‘प्रायोजित’रहेको उनको ठहर छ । जनआस्था प्रतिनिधिसँगको कुराकानीमा उनले जिल्ला तहबाट कर्फ्यु घोषणा भइसकेको बेला माथिल्लो सुरक्षा नेतृत्वले गोली चलाउन छुट्टै आदेश दिन नपर्ने,परिस्थितिको आवश्यकताअनुसार के गर्ने भन्ने निर्णय जिल्ला सुरक्षा समितिले आफ्नो सर्वमान्य सिद्धान्तबमोजिम कार्यान्वयन गर्ने बताए ।
चुुनावको मुखमा जनमतलाई प्रभावित पार्ने उद्देश्यसहित भित्री कन्टेन्ट केही नभएको विषय काटकुट पारेर सामाजिक सञ्जालमार्फत उछालिएको उनको दावी छ । डकुमेन्ट्रीका नाममा पश्चिमाहरु आफैँ नेपालको आन्तरिक मामिलामा हात हाल्न हाम्फालेको कुबरले बताए ।
‘यहाँको मिडियाबाजीले नभ्याएर मिशन पुरा गर्न उनीहरु आफैँ हाम्फालेका हुन्’ उनको भनाइ छ । दुई महिना मात्रै प्रहरी प्रमुख रहेका खापुङले निर्वाचनको मुखमा गरिएको यस्तो प्रचारबाजीलाई अरुको बदनाम गर्ने बेकारको प्रयास भनेका छन् ।