काठमाडौं । काभ्रे जिल्लाको बनेपामा टिपरले ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको प्रहरीले जनाएको छ। मृतक काभ्रेको धुलिखेल नगरपालिका ८ घर भइ हाल धुलिखेल नगरपालिका ५ बस्ने ३१ वर्षीय ओमन प्रधान रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
दुर्घटनामा संलग्न टिपर चालक सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका ६ घर भएका ३२ वर्षका दिपक रोक्कालाई पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ। बुधबार बिहान सवा ८ बजेतिर बनेपा नगरपालिका ७ चाँदनी चोकमा बा प्र ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बा प्र ०१–००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिँदा प्रधानको घटनास्थलमै मृत्यु भएको थियो।
सुरुमा उनको सनाखत हुन सकेको थिएन। पछि सवारी चालक अनुमतिपत्रको आधारमा प्रधानको सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिस्टले जानकारी दिए। मृतकको शव प्रहरीले सिर मेमोरियल अस्पतालमा राखेको छ।
स्कुटरलाई ठक्कर दिने टिपरमा स्थानीयले आगो लगाएका छन्। आगजनीको कारण केहीबेर त्यहाँको अवस्था तनाबग्रस्त बनेको थियो। स्थानीयको विरोधको कारण अरनिको राजमार्गमा केहीबेर यातायातसमेत अवरुद्ध बनेको थियो। आगजनी भएको टिपरलाई सडकबाट अटाएपछि अहिले यातायात सुचारु भएको प्रहरीले जनाएको छ।