बमसहित चन्द समूहका कार्यकर्ता पक्राउ

21

सिन्धुली – प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका एक जना कार्यकर्तालाई सिन्धुलीबाट प्रहरीले पक्राउ गरेको छ । ती महिला कार्यकर्ताको साथबाट प्रहरीले सकेट बम बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको छ ।

शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । १०/१२ जनाको समूहमा आएका चन्द समूहका कार्यकर्ताले बिहान तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङको भिमसेन निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीको अपहरण गरेका थिए ।

महिलालाई दुई सकेटबम र एउटा सुतली बमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । ती महिलाका अन्य साथीहरुको खोजी गर्न नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

चन्द समूहका कार्यकर्ताको नियन्त्रणमा रहेका शिक्षक भण्डारीलाई सकुशल नियन्त्रणमुक्त गरिएको उनले जानकारी दिए । भण्डारीको अपहरण भएको जानकारीपछि खटिएको प्रहरी टोलीले चन्द समूहका ती कार्यकर्ताको खोजी गरिरहेको छ ।

सोही क्रममा एक जना महिला कार्यकर्ता पक्राउ परेकी हुन् । उनको परिचय भने प्रहरीले खुलाएको छैन । उनलाई के कारणले नियन्त्रणमा लिएका हुन् भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ

समाचार वर्गहरू