बर्नमाउथसँग म्यानचेस्टर युनाइटेड १-० ले पराजित

21

(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । बर्नमाउथसँगको खेलमा म्यानचेस्टर युनाइटेड १–० गोल अन्तरले पराजित भएको हो ।

जितसँगै बर्नमाउथ १६ अंक सहित छैटौँ स्थानमा उक्लँदा म्यानयू १३ अंक सहित सातौं स्थानमा यथावत रहेको छ । बर्नमाउथले आफ्नै मैदानमा पाहुना टोली म्यानयूविरुद्ध पहिलो हाफमा १ गोल गरेको थियो ।

४५ औं मिनेटमा योहोसु किंगले गोल गर्दै अग्रता दिलाएका हुन् । दोस्रो हाफमा म्यानयूले गोल फर्काउने प्रयास गरेपनि असफल भयो । ११ औं चरणको खेल जारी रहँदा म्यानयूको यो चौथो हार हो ।

गएराति नै भएको अर्को खेलमा आर्सनल बराबरीमा रोकिएको छ । आर्सनल वुल्भ्ससँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाँध्न बाध्य भयो ।

खेलको २१ औं मिनेटमा पियर एम्रिक अबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै वुल्भ्सलाई हारबाट जोगाए । यो बराबरीसँगै आर्सनलले शीर्ष तीन क्लबसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । पाँचौं स्थानको आर्सनलले १७ अंक

जोडेको छ । १३ अंक जोडेर वुल्भ्स ११ औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा सेफिल्ड युनाइटेडले बर्नलीलाई ३-० ले हराएको छ । यस्तै, न्युकासलले वेष्ट ह्यामलाई ३-२ ले पराजित गर्दा ब्राइटनले नर्विचलाई २-० ले हराएको छ ।

समाचार वर्गहरू