(बाँके) – बाँके जिल्लाका पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना कोरोनाबाट निको भएका छन्। नेपालगन्ज नगरपालिकाका संक्रमित २१ जनालाई आजै डिस्चार्ज गर्ने तयारी भएको बुझिएको छ ।
बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार उनिहरु सबै नेपालगन्ज उपमहानगरपालिकाकै भएको र रि टेष्ट गर्दा पनि रिपोर्ट नेगेटिभ आएको हुँदा केही आजघर पठाउने तयारी गरिएको हो ।
स्रोतका अनुसार शुक्रबार डिस्चार्ज भएर घर जान लागेका मध्य नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक पुरुषसहित र ८ का २० जना रहेका छन्।
बाँकेमा पहिलोपटक वैशाख १९ गते ६० बर्षीय एक मस्जिदमा पढाउने शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको सम्पर्कमा आएका एकै टोलका अन्य मानिसहरुमा समेत संक्रमण भेटिएको थियो। २० दिन आइसोलेनमा बसेर निको भएर घर जान लागेकाहरु उनीहरु नै रहेको स्रोतले बताएको छ।
बाँकेमा हालसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।त्यसमध्ये नरैनापुर गाउँपालिका वडा नं. ५ का २५ वर्षीय एक पुरुषको क्वारेन्टिनमै मृत्यु भएको थियो।