बाँकेमा पत्रकारमाथि सांघातिक आक्रमण

18

बाँके – बाँकेमा कार्यरत पत्रकार संगीन शर्मामाथि सांघातिक आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा दुई युवाले शर्मामाथि आइतबार आक्रमण गरेका हुन् ।

आक्रमणबाट पत्रकार शर्माको निधार, नाक र आँखाका माथिपट्टि चोट लागेको छ । नेकपा नेता विश्वकर्माले उनीहरुलाई बोलाएर आफूमाथि कुटपिट गराएको शर्माको दाबी छ ।

घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता विश्वकर्माद्वारा सञ्चालित युगयान दैनिकको कार्यालयमा आपसी विवाद भइरहेको समयमा नेता विश्वकर्माले युवा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए । नेता विश्वकर्मा समेत नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य हुन् ।

नेता विश्वकर्माले भने आफूले कुटपिटका लागि युवा बोलाएको नभई आफ्नो कार्यालयमा पत्रकार शर्माले होहल्ला गरिरहेकाले उक्त घटना भएको जिकिर गरेका छन् । “मेरो कार्यालयमा आएर अनावश्यक होहल्ला गरेका कारण तह लगाउन इलाका प्रहरी कार्यालयमा सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको थिएँ”, पत्रिकाका प्रकाशक समेत रहेका नेता विश्वकर्माले भने । “सोही बखत मलाई भेट्न कार्यालयमा आएका गाउँका युवासँग पनि शर्माको विवाद भएपछि घटना भएको हो ।”

विगतमा विश्वकर्माकै पत्रिकामा कार्यरत पत्रकार शर्मा हाल कोहलपुरस्थित काँचुली खबर अनलाइनमा कार्यकारी सम्पादक छन् । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले दुवै जनालाई आइतबार साँझ नै इलाका प्रहरी कार्यालय कोहलपुरमा लगेर छलफल गराएको छ । कुटपिटमा संलग्न दुईजना भने फरार रहेका छन् ।

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू