काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थित ९१ जना प्रदेश सभा सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री जम्मकट्टेललाई मत दिएका हुन्।
जम्मकट्टेलको पक्षमा ६७ मत खस्यो भने विपक्षमा १७ मत र मत नदिने सांसदको संख्या ७ रहेको छ। राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले दोस्रोपटक विश्वासको मत लिनुपरेको हो।
केन्द्रमा नेकपा एमाले-माओवादीको गठबन्धन टुटेपछि यसको प्रभाव प्रदेशमा पनि परेको छ। सोहीअनुसार आज एमालेले माओवादी नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्यो। एमालेका सांसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री जगन्नाथ थपलियाले प्रदेशसभाबाटै सरकारबाट बाहिरिएको र पदबाट राजीनामा दिएको घोषणा गरे।
यसअघि राप्रपाबाट मन्त्री बनेका तीन जनाले भने फागुन १३ गते नै राजीनामा बुझाएका थिए। बागमतीमा नेकपा माओवादी केन्द्र, एमाले र राप्रपा मिलेर पुस २६ गते सरकार गठन भएको थियो।
एमालेबाट थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए।