हेटौंडा – बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको दबाबका बीच सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् ।
अविश्वासको प्रस्तावको सामाना गर्न बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तयार भएपनि प्रदेशसभाको बैठक राख्न सभामुख श्रेष्ठले आनाकानी गरिरहेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेललाई दाहाल–नेपाल समूहबाट पुस १० गते ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वासको प्रस्ताव दर्ता भएसँगै छ महिनादेखि अवरुद्ध रहेको प्रदेश सभाका सातौं अधिवेशन बुधबारबाट सुरु भएको थियो । माघ ७ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद छ । यसको असर प्रदेश सभामा पनि देखिएको छ ।
नेकपाको दाहाल-नेपाल समूहले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । उनीहरूले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन् ।
बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलका प्रतिनिधिहरुले शुक्रबार बैठक बोलाउन आग्रह गरेपनि सभामुख श्रेष्ठले भने आनकानी गरेका थिए । दलहरुको निरन्तर दबाबपछि सभामुख श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् ।