काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज साउन १० गते देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिक बर्षा देखि साधारणतया बदली रहने छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली,लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा २४ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा २६ दशमलव ४ मिलिमिटर वर्षा भएकोे विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।