काठमाडौं – बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ ।
बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मिने छोरीको बैंक खाता खोलेर तत्कालै ५ हजार रुपैयाँ जम्मा गरिदिने नीति लिएको हो ।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठले छोरीको जन्म भएपश्चात् छोरीको नाममा नगरपालिकाले ५ हजार रुपैयाँ मुद्दती खाता खोलेर जम्मा गरिदिने र खातामा सम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरको छोरी कार्यक्रम अगाडि बढाइने नीति तथा कार्यक्रम ल्याएका छन् ।
नगरपालिकाले बैंकसँग सम्झौता गरी खातामा चक्रीय रूपमा उच्चतम ब्याज प्राप्त हुने र खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख श्रेष्ठले बताए ।