‘बा होस् कि मामा होस्, नयाँ होस् कि पुरानो दोषीले दण्ड पाउँछ – गगन थापा

67

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गलत गर्ने व्यक्ति कांग्रेस–एमाले वा नयाँ राजनीतिक दल जुनसुकै भएपनि दण्डको भागिदार गराइछाड्ने बताएका छन् ।

मंगलबार पर्वतको पैयुँमा कांग्रेस जिल्ला प्रदेश ‘ख’ कार्यसमितिले आयोजना गरेको सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कानुनको शासनभन्दा कोही पनि ठुलो नहुने स्पष्ट पारे ।

महामन्त्री थापाले कतिपय विषयमा सरकारको गतिसँगै मति पनि ठीक नभएको भन्दै सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका हुन् । ‘बा होस् कि मामा होस् घरको होस् कि मावलीको होस्‚ कांग्रेसको होस् कि एमालेको होस्‚ नयाँ होस् कि पुरानो होस् जो सुकै होस् दोषीले दण्ड पाउँछ भन्ने स्थापित गर्ने यो तीन वर्षको समय प्रयोग गर्नुपर्ने छ‚’ उनले भने ।

नयाँ शक्ति रास्वपा र आफ्नै दल कांग्रेस लक्षित गर्दै महामन्त्री थापाले थपे‚ ‘कोही एक व्यक्ति आउँछ सहकारी ठग्छ । कोही व्यक्तिले घुस खान्छ र कोहीले नक्कली मान्छे बनाएर बाहिर लिएर जान्छ । कसैले सार्वजनिक सम्पत्तिको अपचलन गर्छ त्यो व्यक्ति कांग्रेस वा एमाले जुनसुकै पार्टीको शक्तिशाली पदमा बसेको भए पनि कारबाही हुन्छ ।’

महामन्त्री थापाले प्रदेशलाई बलियो बनाउन संघका मन्त्रालयहरू घटाउनुपर्ने र संघको शहरी विकास मन्त्रालयले पाँच लाखका योजना बनाउने काममा लाग्न नहुने धारणा राखेका थिए ।

समाचार वर्गहरू