बिद्यालयलाई क्वारेन्टाइन बनाउन खोज्दा लखेटिए गाउँपालिका अध्यक्ष

23

(कालिकोट) – शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईं गाँउबाट लखेटिएका छन्। गाउँपालिकाको वडा नं. ४ मा रहेको महादेव माध्यमिक बिद्यालयलाई क्वारेन्टाइन बनाउन खोजेपछिको विवादमा स्थानीयले गाउँपालिका अध्यक्ष चौलागाईँलाई लखेटेका हुन्।

गाउँपालिका वडा नं. ४ मा रहेको महादेव माध्यमिक विद्यालयमा क्वारेन्टाइन राख्ने विषयमा स्थानीय र गाउँपालिका अध्यक्षबीच विवाद भयो। विवादपछि स्गानीयले हातपातसहित गाउँबाट लखेटेका छन्। ‘अन्य सेवा सुविधा केही नदिने बाहिरबाट आएकालाई विद्यालयमा क्वारेन्टाइन बनाएर राख्ने भन्दै स्थानीयले विरोध जनाएका थिए।

स्थानीय रविन्द्र शाहिका अनुसार गाउँको बीचमा  क्वारेन्टाइन बनाउँदा रोग भित्रिने त्रास हुन्छ टाढाको राख्नुपर्छ भन्ने स्थानीयको माग थियो। तर गाँउपालिकाले जबरजस्ती क्वारेन्टाइन बनाउन खोजेपछि विवाद भएको हो । स्थानीय सँग सल्लाह नै नगरी जबर्जस्ती गाउँको माझमा क्वारेन्टाइन बनाउन खोजेपछि स्थानीय मिलेर गाउँबाट लखेटेको शाहिको भनाइ थियो ।

गाउँपालिकाका प्रवक्ता केशन बहादुर शाहीले विज्ञप्ति निकालेर शुभकालिका गाउँपालिका वडा नं. ४ मा रहेको महादेव माध्यमिक विद्यालयमा पीसीआर जाँचका लागि स्वाब संकलन गरिरहेका बेला गाउँपालिका अध्यक्षमाथि गालीगलैज र हातपात भएको दाबी गरेका छन्। संलग्नमाथि कानुन बमोजिम कारबाहीको माग गरेका छन्।

सो विद्यालयमा क्यारेन्टाइन राख्न पाईदैन भन्दै स्थानीयले वडा कार्यालय र विद्यालयमा ताला समेत लगाएका थिए। गाउँपालिकाको केन्द्र राख्न माग गर्दा नराख्ने रोग भित्र्याउनका लागि क्वारेन्टाइन राख्न चाँही ४ नम्बर वडामा आउने भन्दै स्थानीयसहित वडाका जनप्रतिनिधिसमेत विरोधमा उत्रेका थिए।

गाउँपालिका अध्यक्ष सँग सम्पर्कमा गर्न खोज्दा उनी सम्पर्कमा आएका छैनन् ।

समाचार वर्गहरू