(काठमाडौं) – काठमाडौं विश्वविद्यालय(केयु)ले प्रवेश परीक्षाविनै एमबिबिएसमा विदेशी विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको छ । चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिनुपर्ने निर्णय गरे पनि काठमाडौं विश्वविद्यालयले पहिलेदेखि गर्दै आएको आफ्नै अभ्यासअनुसार नै विदेशी विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न निजी मेडिकल कलेजलाई परिपत्र गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले भने आफैँले प्रवेश परीक्षा लिएर विदेशी विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको छ ।
भारतको नेसनल इलिजिबिलिटी कमन इन्ट्रान्स टेस्ट (निट) उत्तीर्ण गरेका विद्यार्थीलाई समेत नेपालको विश्वविद्यालयले प्रवेश परीक्षा लिएर भर्ना गर्नुपर्ने व्यवस्था छ । तर, काठमाडौं विश्वविद्यालयले भने निट पास गरेकालाई सीधै कलेज भर्ना प्रक्रिया सुरु गरेको हो ।
‘चिकित्सा शिक्षा आयोग आफैँले प्रवेश परीक्षा नलिएको अवस्थासम्म निट पास गरेका विद्यार्थी भर्ना गर्न पाउने भनेको छ,’ काठमाडौं विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन प्रा.डा. राजेन्द्र कोजूले भने,’ ‘त्यही भएर हामीले मेरिटका आधारमा विद्यार्थी भर्ना गर भनेका हौँ ।’ सम्बन्धित देशको निट उत्तीर्ण गरेका विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयले सीधै भर्ना गर्न पाउने व्यवस्था रहेको डिन कोजूले बताए ।
चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा आयोगले काम सुरु गरेपछि आयोगले नै मेडिकल शिक्षाको प्रवेश परीक्षा लिने उल्लेख छ । आयोगले पदाधिकारी नियुक्त भएर काम सुरु गरे पनि यो वर्ष आफैंले परीक्षा लिन सक्ने अवस्था नभएपछि विश्वविद्यालयलाई प्रवेश परीक्षा लिएर भर्ना गर्न सक्ने निर्णय गरेको थियो ।
‘आगामी वर्ष आयोग आफैँले प्रवेश परीक्षा कति वटा लिने भन्ने निर्णय गर्छ,’ आयोगका सदस्यसचिव तथा प्रवक्ता डा. हरिप्रसाद लम्सालले भने, ‘तर अहिले आयोगले विश्वविद्यालयले लिने परीक्षा भनेर निर्णय गरेको छ । आयोगको आसय विश्वविद्यालयको आफ्नो परीक्षा हुनुपर्छ भन्ने हो ।’
चिकित्सा शिक्षा आयोगमा त्रिभुवन विश्वविद्यालयले मात्रै प्रवेश परीक्षा लिई विद्यार्थी भर्ना गरेको सूची पठाएको छ ।