बिमा क्षेत्रको ठगी नियन्त्रण गर्न ‘बिमा सूचना केन्द्र’ स्थापना गरिने

81

काठमाडौं – नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूको समेत लगानी हुने गरी ‘बिमा सूचना केन्द्र’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।

वित्तीय क्षेत्र हुने ठगीलाई नियन्त्रण गर्न स्थापना गरिएको कर्जा सूचना केन्द्रजस्तै बिमा क्षेत्रमा हुने ठगीलाई पनि नियन्त्रण गर्न ‘बिमा सूचना केन्द्र’ स्थापना गर्न लागिएको हो ।

बिमा क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्नेलगायतका उद्देश्यसहित ‘बिमा सूचना केन्द्र’ स्थापना गरिँदै छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा पनि बिमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने उल्लेख छ ।

गत माघमा लागू भएको बिमा नियमावलीमा बिमा सूचना केन्द्र स्थापना गर्ने व्यवस्था गरिएको छ । नियामक निकाय नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीले पनि बिमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

बिमा सूचना केन्द्र सञ्चालनसम्बन्धी निर्देशिकाको मस्यौदा प्राधिकरणको सञ्चालक समितिमा पेस भइसकेको छ । सञ्चालक समितिले उक्त मस्यौदा अध्ययन गरिरहेको छ । बोर्डले पारित गरेपछि सूचना केन्द्र स्थापना गरिनेछ । अहिले नेपालमा १४ जीवन, १४ निर्जीवन, दुई पुनर्बिमा र सात लघुबिमा कम्पनी सञ्चालनमा छन् । उनीहरूको समेत सेयर स्वामित्व हुने गरी बिमा सूचना केन्द्र स्थापना गरिनेछ ।

बिमा कम्पनीहरूले आफ्ना ग्राहकलगायतका व्यक्तिको शंकास्पद गतिविधि केन्द्रमा पठाउनुपर्ने हुन्छ । त्यसपछि केन्द्रले ठगी गर्ने व्यक्ति वा संस्था अर्थात् बिमितको पहिचान गरेर कालोसूची र शंकास्पद सूचीमा राखी प्रकाशन गर्न सक्ने बिमा नियमावलीको नियम १०८ मा उल्लेख छ । बिमा ऐन २०७९ को दफा १४३ को उपदफा ४ मा ठगी गर्ने बिमित तथा अन्य व्यक्तिलाई सम्बन्धित निकाय (प्रस्तावित सूचना केन्द्र)को सिफारिसमा अवैधानिक सूचीमा राख्ने र ५ वर्षसम्म बिमा सेवामा प्रतिबन्ध लगाउने व्यवस्था छ ।

साढे सात दशकको इतिहास भएको नेपाली बिमा क्षेत्रमा ठगीका घटना पहिलेदेखि नै हुँदै आएका छन् । तर, त्यसबारे सूचना संकलन गर्ने र जानकारी दिने निकाय भने अहिलेसम्म छैन ।

समाचार वर्गहरू