बिश्व ब्यापार संगठनका महानिर्देशक द्वारा पदबाट राजिनामा

44

(काठमाडौं) – विश्व व्यापार संगठन (डब्ल्युटिओ) का महानिर्देशक रोबर्टो अजिभेडोले कार्यकालको एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै बिहीबार राजीनामा दिएको घोषणा गरेका हुन् ।

सात वर्षदेखि डब्ल्युटिओको प्रमुख रहेका उनले अमेरिका–चीनबीच व्यापार तनाव जारी रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर परेकै अवस्थामा अगस्ट ३१ देखि लागू हुने गरी राजीनामा दिएको जनाएका छन् ।

ब्राजिली अर्थशास्त्री अजिभेडोको नेतृत्वको डब्लुटिओविरुद्ध ट्रम्प प्रशासनले निरन्तर आलोचना गरिरहेको थियो । डब्लुटिओले  चीन सरकारले धेरै व्यवसायमा नियम विपरित स्वीकृत दिइरहेको सरकारी अनुदानलाई वेवास्ता गरेको र बौद्धिक सम्पत्ति सुरक्षाका मामिला यसले ठोस नीति लिन नसकेको आरोप अमेरिकाको छ ।

डब्ल्युटिओको मुख्यालयमा संगठनका प्रतिनिधिहरूसँगको विशेष बैठकमा महानिर्देशक अजिभेडोले आफ्नो राजीनामा पारिवारिक निर्णय र व्यक्तिगत निर्णय रहेको स्पष्ट पारेका छन् । डब्ल्युटिओको स्थापना भएको २५ वर्षको अवधिमा अहिलेसम्म कुनै महानिर्देशकले पनि कार्यकालअगावै राजीनामा दिएका थिएनन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजिभेडोको राजीनामा उपयुक्त निर्णय भएको प्रतिक्रिया दिए । (एजेन्सी)

समाचार वर्गहरू