काठमाडौं – बिहीबार देशभर वर्षा गराउने अर्को प्रणाली भित्रिने भएकाले यो साता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसमविद्हरूका अनुसार अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाली आकाशमा भित्रिने पूर्वानुमान छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले हाल पश्चिमी वायु र स्थानीय वायुका कारण क्षेत्रगत रूपमा वर्षा भइरहे पनि बिहीबार भित्रिने प्रणालीले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा गराउने प्रक्षेपण रहेको बताए ।
मौसमविद् अधिकारीले यो साता कुनै पनि अन्नलगायत बाली नकाट्न र काटिसकेको भए छिटो भित्र्याउन सुझाव दिएका छन् । ‘काटेको छ भने भित्र्याउँदा राम्रो हुन्छ, किनकि बुधबारको तुलनामा बिहीबार धेरै पानी पर्ने भएकाले काटेको बाली नष्ट हुन सक्छ,’ उनले भने, ‘काटेको छैन भने केही दिन पर्खँदा राम्रो हुन्छ ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।