बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

16

बुटवल – रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो ।

ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको र ‘प्रेसरको औषधि सेवन गरिरहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

गत साउन अन्तिम साता भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा बसेका थिए । परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो ।

मृतकमा मधुमेह र उच्च रक्तचापको समस्या समेत थियो । उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।

योसँगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या तीन पुगेको छ ।

 

समाचार वर्गहरू