बुटवल – रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पश्चिम नवलपरासी र कपिलवस्तुका एक एक जना पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।
गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । असोज २ बाट भेन्टिलेटरमा राखिएका उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
यस्तै, असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए । उनलाई २ गतेदेखि नै भेन्टिलेटरमा राखी उपचार गरिँदै थियो ।