बुधबारसम्म १ लाख ५४ हजार बढीले लगाए कोरोना खोप

15

काठमाडौं – खोप अभियानको सातौं दिन बुधबार साँझ सम्म करीब डेढ लाख भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २ सय १ बुथबाट १ लाख ४५ हजार ८ सय ४४ जनाले खोप लगाएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदेश १ मा २० हजार १ सय ५५, प्रदेश २ मा १९ हजार ६ सय ६३, बागमतीमा ५० हजार ७ सय ५० जनाले खोप लगाएको जानकारी दिनु भएको छ ।

यस्तै, गण्डकी प्रदेशमा १६ हजार ४ सय ९५, लुम्बिनी प्रदेशमा २१ हजार ४ सय ५४, कर्णाली ७ हजार ३ सय ३६ र सुदूरपश्चिम प्रदेशमा एक हजार १ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर लक्षण नदेखिएको जनाएको छ । ज्वरो तथा केही असहज अवस्था आए आराम गर्नुपर्ने बताउँदै मन्त्रालयले सामान्य लक्षण केही समयपछि आफै हराएर जाने जनाएको छ ।

माघ १४ गते सुरु गरिएको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवाप्रदायक गरी आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका १० लाख डोज भारत सरकारले नेपाललाई सहयोग गरेको हो ।

समाचार वर्गहरू