काठमाडौं – काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीसहित तीनजनाविरुद्ध कैद सजाय भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले आइतबार उनीहरूलाई एक/एक महिना कैद सजाय सुनाएको हो।
अदालतले मेयर अधिकारीसहित वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाएको छ।
विवादित जग्गामा नगरपालिकाको संरचना बनाएको र अदालतले हटाउनू भन्ने आदेश दिँदा नमानी अदालतको मानहानि गरेको अभियोगमा उक्त फैसला सुनाइएको हो। उगीहरूविरुद्ध चन्द्रबहादुर थापाले रिट दायर गरेका थिए।
यसअघि उनै थापाको रिटनिवेदनमा २०८० मंसिर १७ गते एउटा जग्गा विवादमा नगरपालिकाको विपक्षमा फैसला सुनाएको थियो। उक्त जग्गा १०० दिनभित्र व्यक्तिलाई उपयोग गर्न दिनू भनी अदालतले गरेको फैसला नगरपालिकाका मेयर र वडाध्यक्षले अटेर गरेका हुन्। त्यसपछि थापाले पुन निवेदन दिएका थिए।
सोहि रिट निवेदन उपर सुनुवाई गर्दै अदालतले एक महिनाको कैद फैसला सुनाएको हो ।