काठमाडौं – बेलारुसको राजधानी मिन्स्क लगायत देशका अन्य धेरै शहरहरूमा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप भएको छ ।
सरकारी टेलिभिजनले गरेको मतदान पछिको मत सर्वेक्षणले लामो समयदेखिका नेता एलेक्जेन्डर लुकाशेन्का पुन: निर्वाचित हुने देखाएपछि मिन्स्कसहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको हो ।
बीबीसी हिन्दीका अनुसार मिन्स्कमा सिटी सेन्टरबाट भिड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गरेको छ । त्यहाँ मानिसहरू घाइते भएको खबर आएको छ ।
सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८० प्रतिशत मतले विजयी भएको देखाएको छ । प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले आफूलाई सात प्रतिशत मात्र मत दिइएको देखाएको उक्त विवरणलाई आफूले नपत्याउने बताएकी छन् ।
विपक्षीहरूले मतदानमा धाँधली हुनसक्ने ठानेको र आफूहरूले एउटा वैकल्पिक गणना पनि राखेको बताएका छन् । ३७ वर्षीया तिखानोभ्स्काया जेलमा रहेका श्रीमान्को आफ्ना सट्टा चुनावमा उठेकी हुन् र उनले ठूला विपक्षी र्यालीहरूको नेतृत्व गरेकी थिइन् ।