काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१४ तिखिदेवल बस्ने चितवन रत्ननगर नगरपालिका-१३ दयानगर घर भएका ४४ वर्षीय तेज बहादुर खड्का रहेका छन् ।
उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय वेरुजू रही खड्का फरार रहेका थिए ।
फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर तिखिदेवलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको हो ।
खड्काले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी आफैले संचालन गर्ने सफायर ट्रेडिङ् कम्पनी प्रा.लि. महालक्ष्मीस्थान, ललितपुरको नामबाट संचालित सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको खाताबाट भुक्तान हुने गरी बिभिन्न मितिका चेकहरु काटी पीडितलाई दिएर बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो ।
खड्कालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।