बैतडी – बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ ।
किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानून अनुसार कारवाही हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्ष भन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।
* शिक्षकद्वारा छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि घटना सार्वजनिक
बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ । ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटकपटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । “हामीले घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौँ । पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौँ । यो घटनामा संलग्न भएका कसैलाई पनि छाडिँदैन ।”