रासस/नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिँसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । बोडोल्यान्ड राज्यको माग गर्दै सशस्त्र युद्ध गरिरहेका बोडोसँगको नयाँ सम्झौताबाट उनीहरुलाई मूलधारको शान्तिपूर्ण राजनीतिमा आउन मार्गप्रशस्त गर्ने प्रधानमन्त्री मोदीको धारणा छ ।
उनले बोडो जनताका मागलाई सम्बोधन गर्न भारत सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् । बोडो समूहसँगको सम्झौतापछि प्रतिक्रिया दिँदै उनले भने, “बोडो समूहसँगको सम्झौताले बोडो जनताको विशिष्ट सांस्कृतिक पहिचानको संरक्षण र प्रचार गर्न सहयोग पुग्नेछ । उनीहरुले विकासका व्यापक कार्यहरुमा बोडो जनतालाई समाहित गर्नेछ । बोडो जनताका आकाँक्षालाई परिपूर्ति गर्न भारत सरकारले जतिसक्दो बढी ध्यान दिनेछ ।”
सोमबार भारत सरकारले हाल प्रतिबन्धित नेसनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्यान्डका प्रतिनिधि सम्मिलित भारतीय गृह मन्त्रालय नयाँ दिल्लीमा त्रिपक्षीय सम्झौता भएको थियो ।
यसअघि सन् १९९३ मा केन्द्र सरकारसँगको सम्झौता बमोजिम बोडोल्यान्ड स्वायत्त परिषद गठन गरिए पनि त्यसले राज्यमा भड्किएको हिंसा रोक्न सकेको थिएन । सन् २००३ मा पनि बोडोल्यान्डको समस्या सुल्झाउन सशस्त्र समूहसँग अर्को सम्झौता गरिएको थियो ।