भगवानको भरोसामा दुर्गमका स्वास्थ्य संस्था

23

जाजरकोट – सौर्य ऊर्जा तथा विद्युतको अभावमा जाजरकोटका दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्था सल्लीको दियालो बालेर सुत्केरी सेवा दिन बाध्य छन् । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणसँग जोडिन नसकेको जाजरकोटका दुर्गम गाउँ र डोल्पाका अधिकांश गाउँमा सल्लाको दियालोको भरमा दैनिक स्वास्थ्य संस्थामा आउने गर्भवतीको सुत्केरी गराउनु पर्दा अनेक समस्या आउने गरेको चिकित्सकहरु बताउँछन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरमा रहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसुति केन्द्रमा बत्तीको अभावमा मोबाइलको लाइटको भरमा सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । त्रिपुराकोट स्वास्थ्य चौकीका इञ्चार्ज अहेब तुलबहादुर श्रेष्ठले भने, “गएको साउनयता मात्रै १६ जना सुत्केरीको मोबाइल टर्च र दियालो बालेर सुत्केरी गराइएको छ । सुत्केरी गराउने जस्तो जटिल र संंवेदनशील कामका लागि उज्यालो र न्यानो ठाउँको आवश्यकता पर्ने भए पनि त्रिपुराकोट स्वास्थ्य चौकीमा भरपर्दो बत्तीको व्यवस्था छैन ।”

दुई वर्षको सुनिश्चित भनिएपनि ‘स्वच्छता’ नामक संस्थाले जोडेको सोलार एक वर्ष नपुग्दै बिग्रेपछि त्रिपुराकोट स्वास्थ्य चौकीअन्तर्गतको प्रसूति केन्द्रमा समस्या आएको हो ।

डोल्पामा रहेका स्वास्थ्य चौकीमा दक्ष अनमी नहुँदा र सुत्केरीसम्बन्धी तालीम नलिएका करारका कर्मचारीले सुत्केरी गराउँदा पनि समस्या सिर्जना हुने गरेको छ । प्रसूति केन्द्र सञ्चालन गरिएका प्रत्येक स्वास्थ्य चौकीमा एक जना एसबीआई तालीम प्राप्त अनमी अनिवार्य हुनुपर्ने भनिए पनि स्वास्थ्य चौकीमा गत साउनदेखि तालीम नलिएका अनमीले सुत्केरी गराउँदै आएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा रहेका लिकु, पहाडा, सुँ र त्रिपुराकोटसहितका पाँच वटा स्वास्थ्य चौकीमध्ये चार वटा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनमा रहे पनि बत्ती नहुँदा प्रसूति सेवा प्रवाहमा समस्या भएको छ । फुल्चिङ स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री पठाइए पनि काम शुरु भएको छैन । मुड्केचुला गाउँपालिका–३ काशीलखोलामा गएको पहिरोबाट विद्युत् उत्पादन गृह बगाएपछि फेम्ली अस्पतालको सेवा ठप्प हुँदै आएको छ ।

यहाँका अधिकांश महिला सुत्केरी सेवादेखि नियमित स्वास्थ्य सेवा प्रवाह गुम्बामा रहेका आम्चीले गर्दै आएका छन् । भगवानको भरोसमा उपल्लो डोल्पाका गर्भवती सुत्केरी हुँदै आएका छन् । तल्लो डोल्पाका अधिकांश ठाउँमा पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा असुरक्षितरुपमा घरमै सुत्केरी हुन बाध्य भएको जगदुल्ला गाउँपालिका–४ का रामे रोकायले बताए ।

जाजरकोटको जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकाका स्थानीय महिला नियमित स्वास्थ्य परीक्षण नगरी घरमै सुत्केरी हुने गरेका छन् । स्वास्थ्य संस्था टाढा हुँदा उनीहरु घरमै असुरक्षित सुत्केरी हुन बाध्य भएका हुन् ।

जाजरकोट र डोल्पाबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा लिइएको १८ जना सुत्केरीले नियमित स्वास्थ्य संस्था गएर जाँच नगरेको बताएका थिए । गाउँमा रहेका स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा उपकरण नहुँदा हातले छामेर उपचार गर्दा सबै कुरा थाहा नहुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू