भण्डारीको घोषणाले एमालेमा हलचल

94

काठमाडौं –  पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको दुई कार्यकाल सकेर शीलतनिवासबाट बाहिरिएको दुई वर्ष साढे तीन महिनापछि पार्टी राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी छन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा निर्विकल्प जस्तै बनिरहेका बेला भण्डारीको सक्रिय राजनीतिमा प्रवेश घोषणाले एमालेमा हलचल भएको छ ।

भण्डारीको यो विधान महाधिवेशनको संघारमा भएको घोषणाले दुई कित्ताबीचको शक्ति संघर्ष फेरि सुरु हुने संकेत देखिएको छ ।

ओलीको कार्यशैलीमाथि प्रश्न उठाएरै भदौ ०७८ मा नेता माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए । नेपालले एस स्थापना गरेपछि र असन्तुष्ट नेता भीम रावल निष्कासनमा परेपछि ओलीलाई चुनौती दिन सक्ने नेता देखिएका छैनन् ।

मदन भण्डारीको ७६औं जयन्तीका अवसर पारेर उनकै नाममा स्थापित फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले सक्रिय राजनीतिलाई निरन्तरता दिने औपचारिक उद्घोष गरिरहँदा त्यही कार्यक्रमका प्रमुख अतिथि बनाइएका प्रधानमन्त्री ओली भने स्पेन भ्रमणको हतारो देखाएर सुरुमा बोलेर हिँडिसकेका थिए ।

उनीअघि बोलेका ओलीले भने  ‘कुनै अनलाइनहरूले विद्या भण्डारी आउने कार्यक्रम भाँड्न खोजिएको भनेर विश्लेषण गरेका छन् । तर, एमाले जहाँ छ, एमाले निकटका संगठनहरू जहाँ छन, त्यसलाई कसरी भाँड्ने ? म आउने, विद्या भण्डारीजी आउने कार्यक्रम कसरी भाँडिन्छ ? यहींबाट एमाले ध्वस्त हुन्छ भनेर कसैले बम पड्काउँछु भन्ने ठानेको छ भने पड्कनेवाला छैन, आशा नगरे हुन्छ ।’

केही समययता सक्रिय राजनीतिमा फर्केको औपचारिक घोषणा नगर्दै एमालेको ब्यानरमुनिका कार्यक्रममा भण्डारी सहभागी हुन थालेपछि ओलीले असन्तुष्टि पोख्दै आएका थिए ।

ओलीले २५ जेठमा पार्टीको भ्रातृ संस्था अनेरास्ववियुको अधिवेशन उद्घाटन गर्दै भण्डारीप्रति कटाक्ष गरेका थिए । ‘अहिले हल्ला चलेको छ, तलतल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यक छैन । अर्को खेल हुन खोजेको छ यहाँ,फलानो आउने रे, यस्तो उस्तो । पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष । महाधिवेशन घोषणा भएको छैन । बाहिर–बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, स्टाटस सिस्टाटसलाई जवाफ दिनुस् ।’

ओलीले पार्टीका कार्यक्रममा जाँदा अनुमति लिनुपर्नेसम्मको भनाइ राखेका थिए । त्यसलाई जबाफ दिँदै पूर्वराष्ट्रपति भण्डारीले देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहन नपर्ने प्रतिक्रिया दिएकी थिइन् । ‘म कहिल्यै गुटबन्दी नगरेर मूलधारको राजनीति गरिरहेको मान्छे । म अध्यक्ष हुने कुराले अरू आकांक्षीका मनमा केही प्रश्न उठेको हुन सक्छ,’ उनले भनेकी थिइन्।

समाचार वर्गहरू