काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले तिन महिनामा सातौंपटक मन्त्रीपरिषद विस्तार गरेका छन् । पटकपटक गरेर संसदिय निर्वाचन जितेका करिब सबै दलहरुलाई मन्त्री बनाउन सफल दाहालले शुक्रबार नेपाली काँग्रेससहितका नौ दललाई समेटेका छन् ।
शुक्रबार भएको मन्त्रीपरिषद विस्तारमा धराशयी बनेको भनिएको नेपालको अर्थतन्त्रलाई लयमा ल्याउने जिम्मेवारी पाएका छन् नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले ।
प्रत्यक्ष निर्वाचनमा सधैँ पछि परे पनि नेपाली कांग्रेसबाट अवसर पाउने ‘भाग्यमानी’ व्यक्तिमा पर्छन् डा. प्रकाशशरण महत। सधैँ शेरबहादुर देउवा नजिक रहेर राजनीति गरेका महतले आफूले रोजेको मन्त्रालय भने पहिलोपटक पाएका छन्।
डा. प्रकाशरण महत दुई पटक परराष्ट्रमन्त्री भए। पहिलोपटक राज्य र दोस्रो पटक विभागीय मन्त्री बने। एकपटक उनी ऊर्जामन्त्री पनि बने। पहिलोपटक परराष्ट्र राज्यमन्त्री हुँदा इराक घटनामा उनी आलोचित बने।
दोस्रो पटक परराष्ट्रमन्त्री बन्दा राजदूत नियुक्तिमा विवादमा तानिए। ऊर्जामन्त्रीका रूपमा रहँदा पनि आलोचनामुक्त हुन सकेनन् डा. महत।
महतले तेस्रोपटक मन्त्रीको रूपमा पदभार ग्रहण गर्दै गर्दा नेपालको अर्थतन्त्र धराशयी बनेको छ। अर्थतन्त्रसँग जोडिएका हरेक सूचकांक रातो छ। राजस्व लक्ष्यभन्दा निकै तल छ। यही कमजोर अर्थ नीति सुधार्न डा. महतले के जादु गर्लान् त ?
अबको दुई महिनामा उनले २०८०/८१ को बजेट सार्वजनिक गर्नुपर्छ। खुम्चिएको क्षेत्रको स्रोत बढाउने काम पनि सहज छैन। बजेटमा ठूला कार्यक्रमको माग व्यवस्थापन गर्ने कार्य पनि अर्थमन्त्रीको महतका लागि सहज छैन।
योजना आयोगको उपाध्यक्ष हुँदै अर्थमन्त्री भएका उनका दाइ डा. रामशरण महत बहुदलीय प्रजातन्त्रका बेला नेपालको अर्थतन्त्रको रूपरेखा कोर्नेमध्येका अगुवा मानिन्छन्।अर्थमन्त्री भएका बेला ‘डा. रामशरण मुलुकको ढुकुटी भर्छ, पछि अर्को सरकारले खर्च गर्छ’ भन्ने भनाइ लोकप्रिय रहेको डा. रामशरणलाई चिन्नेहरू बताउँछन्।
डा. महत पटकपटक अर्थमन्त्री भए। उनी अर्थमन्त्री हुँदा नेपालको अर्थतन्त्र सकारात्मक लयमा थियो। उनै रामशरणको छत्रछायामा हुर्केका र अध्ययन गर्न बाहिर गएका प्रकाशशरण पनि अर्थशास्त्र अध्ययन गरेर नेपाल आएका हुन्।
अर्थ मन्त्रालयको नेतृत्व पाउनु महतका लागि अवसर र चुनौती दुवै हुन्। दाइले जसरी अर्थतन्त्रमा सुधार गर्नु उनका लागि अवसर हो भने धराशयी बनेको अर्थतन्त्रलाई लयमा ल्याउनु उनका लागि चुनौती हो।