भारतबाट एकैदिन पाँच हजार बढी भित्रीए, सिमामा भिड बढेसँगै ब्यबस्थापनमा समस्या

20

(काठमाडौं) – लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् । स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।

लकडाउन र सीमानाका सिल भएकै अवस्थामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीलाई जिल्ला प्रशासन, बाँकेको अनुमतिमा नेपाल प्रवेश गराइएको हो । नेपालगन्ज नाकाबाट बिहीबार राति दुई हजार नौ सय १३ जना भित्रिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

भारतबाट फर्कनेहरूसँगै कोरोना संक्रमण भित्रिन सक्ने भए पनि उनीहरूको स्वास्थ्य जाँच र व्यवस्थापनमा ध्यान दिइएको छैन । धनगढीबाट नजिक पर्ने भारतीय बजार पलियामा पुगेका आठ सय ५८ जनालाई बुधबार उद्धार गरिएको थियो । भारतबाट आउने क्रम बिहीबार बेलुकीसम्म पनि जारी रहेको जोशीले बताए । भारतबाट फर्कनेको ओइरो लागेपछि व्यवस्थापनमा समस्या भएको छ ।

अधिकांशको स्वास्थ्य जाँच गरिएको छैन । दुई दिनको अवधिमा फर्किएकामध्ये ६ सय ७० जनाको आरडिटी जाँच गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख ललित धामीले जानकारी दिए । आठ सयवटा आरडिटी किट लगिएकोमा स्वास्थ्यकर्मीको अभावले पूरै जाँच गर्न नसकिएको उनले बताए । जाँच गरिएकामध्ये २० जनामा पोजेटिभ देखिएको धामीले जानकारी दिए । तीमध्ये ११ जना मात्र सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका छन् । पोजेटिभ देखिएका केही व्यक्ति भिडभाडमा सम्पर्कविहीन भएको जानकारी आएको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।

भारतबाट फर्केकाको स्वास्थ्य जाँचका लागि आरडिटी किट र जनशक्तिको अभाव देखिएको छ । स्वास्थ्य जाँचका लागि पर्याप्त कर्मचारी खटाइएको छैन । दुईजना स्वास्थ्यकर्मी र दुईजना स्वयंसेवक मात्र परिचालन गरिएका थिए । ‘जनशक्ति कम छ, चारजनाले सयौँको संख्यामा रहेकाहरूको जाँच गर्न सकिँदैन । किटको पनि कमी छ,’ निमित्त प्रमुख धामीले भने । आरडिटी किट अभावले बुधबार फर्किएकाको स्वास्थ्य जाँच गरिएन । कैलालीमा करिब ६ सय   किट मौज्दात रहेको मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।

भारतबाट फर्कनेलाई ३० वटा बसमा राखेर बिहीबार बेलुकी विभिन्न जिल्लामा पठाइएको जिल्ला प्रशासनले जनाएको छ । केही बस प्रदेश सरकार र केही स्थानीय तहले पठाएका हुन् । कैलाली र कञ्चनपुरका स्थानीय तहले ट्रिपर र ट्र्याक्टरमा लगेर क्वारेन्टाइनमा राखेका छन् ।

समाचार वर्गहरू