भारतबाट दूध आयात गर्न खोजेपछी दुग्ध उत्पादक संघ संस्थाको विरोध

6

काठमाडौं – नेपालमा दूध पर्याप्त हुँदाहुँदै राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्न गरेको सिफारिसप्रति किसानले आपत्ति जनाएका छन् ।

डेरी उद्योगीहरूले नेपालमा दूध अभाव रहेको भन्दै भारतबाट आयात गर्नुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति मागेपछी उद्योगीले बोर्डलाई पनि आग्रह गरेका छन् ।

उद्योगीका आग्रहका आधारमा बोर्डले आवश्यकताअनुसार दूध आयातका लागि मन्त्रालयलाई सिफारिस गरेको छ ।

सो सिफारिसपछि केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले कृषि मन्त्रालय तथा बोर्डलाई पत्र नै पठाएर दूध आयात गर्ने आवश्यकता नरहेको जानकारी गराएको छ । नेपालमै दूध पर्याप्त छ, डेरी उद्योगीले नेपाली किसानको दूध खरिद नगरी आफ्नो नाफाका लागि भारतबाट आयात गर्न चाहेको भन्दै कृषि मन्त्रालयलाई दूध आयात खुला नगराउन सुझाव दिएको छ ।

सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले आफूहरूसँग दूधको अभाव छैन, डेरी उद्योगीले जानी जानी दूधको अभाव देखाएर नाफा कमाउने उद्देश्यले भारतबाट दूध ल्याउन चाहेको दाबी गर्दै भने “हामी किसानसँग जति पनि दूध छ तर त्यो लिनका लागि आउनु प¥यो, चितवन, काभ्रे, पोखरालगायतको ठाउँमा मात्र दूध खोजेर पाइँदैन, किसानको घरघर गएर दूध सङ्कलन गरेजति पनि दूध छन् ।”

यदि दूधको अभाव छ भने उत्पादन कसरी बढाउने, दुर्गम क्षेत्रमा रहेको दूध बजारसम्म कसरी पु-याउनेजस्ता कार्य छाडेर सरकारले पनि दूध आयातका लागि तयार अवस्था रहेको किसानका लागि पीडादायी कार्य भएको उनले बताए ।

उनले भने, “दुग्ध विकास संस्थान (डीडीसी)ले सहकारीलाई समयमै भुक्तानी नगरेकोकारण किसानले उसलाई दूध दिन मानेको छैन, त्यसैले उसलाई दूधको अभाव खड्किएको हो । किसानले आफ्ना दूध अनौपचारिक क्षेत्रमा बढी खपत गर्न थालेका छन् । समयमा भुक्तानी नदिँदा किसान अन्यत्र जान थालेका छन् ।”

चितवनमा मात्र दैनिक साढे तीन लाख लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये साढे दुई लाख लिटर दूध जिल्लाबाहिर जाने गरेका छन् । किसानले चार फ्याट र आठ एफएनएस भएको दूधलाई प्रतिलिटर ६५ रुपियाँमा बेच्दै आएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू