काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले बर्खायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् भारतमा बेच्दै आएको छ ।
गत ६ महिनामा (साउनदेखि पुससम्म) भारतलाई बिजुली बिक्री गरेर सरकारी स्वामित्वको प्राधिकरणले ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको बताउँदै गर्दा देशकै विभिन्न जिल्लामा झण्डै ३९ हजार परिवार टुकीकै भरमा छन् ।
शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८को पुर्ण प्रतिवेदन अनुसार ३८ हजार ९ सय ७ परिवार बत्ती बाल्न मट्टितेल प्रयोग गर्ने गरेका छन् । यो कुल संख्याको ०.६ प्रतिशत हो । जनगणना अनुसार बत्ती बाल्न सबैभन्दा बढी लुम्बिनीमा मट्टितेल प्रयोग हुन्छ । लुम्बिनीमा १ प्रतिशत परिवारले मट्टितेल प्रयोग गर्दै आएका छन् ।
दोस्रोमा मधेस प्रदेशमा ०.९ प्रतिशत परिवार, कोशीमा ०.८ प्रतिशत, कर्णालीमा ०.५ प्रतिशत, सुदूरपश्चिममा ०.३ प्रतिशत, गण्डकीमा ०.२ प्रतिशत, बागमतीमा ०.१ प्रतिशत परिवारले बत्ती बाल्न मट्टितेल प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
कुल जनसंख्यामध्ये बिजुली बत्ती बाल्नेको संख्या ९२ प्रतिशत छ । सोलार/सौर्य ऊर्जाको प्रयोगमार्फत ६.६ प्रतिशत जनसंख्याले बत्ती बाल्ने गरेका छन् । बिजुली बत्तीको पहुँच क्रमिक रुपमा बढे पनि सबैमा पुग्न सकेको छैन ।