(काठमाडौँ) – नेपाली भूमि अतिक्रमण गरी भारतले चीनको मानसरोवर जोड्न सडक बनाएको विषयमा गम्भीर पहलकदमी लिन प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
वक्तव्य मात्रै निकालेको र कुनै ठोस कूटनीतिक पहलकदमी नलिएको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ । सभापति शेर बहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै “उच्चस्तरीय कूटनीतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेको हो ।
देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्च स्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कूटनीतिक र राजनीतिक रूपमा उच्च स्तरीय पहलकदमी गर्न सार्वजनिक रुपले अपील गर्दछु ।’
देउवाले विज्ञप्ति जारी गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूभाग नेपालका भएको र सरकार वा प्रतिपक्ष जहाँ रहँदा पनि कांग्रेसले यी भू–भागबारे सदैब प्रष्ट धारणा राख्दै आएको बताएका छन् ।
सन् २०१५ को मेमा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि त्यसबेला कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर गम्भीर असहमति प्रकट गरेको स्मरण गर्दै वक्तव्यमा भनिएको छ, ‘नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सीमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद छ ।’
पूर्व प्रधानमनत्री समेत रहेका देउवाले राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय मात्र नभएर यो परिणाममुखी हुनुपर्छ भन्ने विषयमा आफूहरु विगत देखिनै निरन्तर प्रष्ट रहेको बताएका छन् ।
वक्तव्यमा सभापति देउवाले भनेका छन्, ‘नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कूटनीतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहनेछ ।’