काठमाडौं – भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् । यहीँ कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि काठमाडौं आउने मिति तय भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि नै तय भएको उनको नेपाल भ्रमण कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण पछि धकेलिएको थियो ।
भ्रमणका क्रममा जनरल नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने कार्यतालिका छ। यो परम्परा सन् १९५० देखि चल्दै आएको छ। नेपालका प्रधानसेनापतिले पनि भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको दर्जा ग्रहण गर्छन्।
यस्तै नेपालसँगको सीमा विवाद क्षेत्रीय सुरक्षा चुनौतीबारे भ्रमणका क्रममा छलफल हुने भारतीय सञ्चार माध्यमले दावी गरेका छन्। पछिल्लो समय नेपाल विरुद्ध आपत्तिजनक टिप्पणी गरेर विवादमा आएका नरवाणेले नेपालसँगको सम्बन्ध सुधार्ने प्रयास गर्न यो भ्रमणलाइ उपयोग गर्ने अनुमान गरिएको छ ।
भ्रमणका क्रममा नरावणेले समकक्षी जनरल पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष नागरिक र सैन्य अधिकारीहरुसँग १८ सय किलोमिटर लामो सीमासहित दुई देशबीच देखिएका महत्वपूर्ण मुद्दाहरुमा विस्तृत वार्ता गर्ने र सीमा व्यवस्थापनमा जोड दिइने जनाइएको छ ।
सेना प्रमुखलाई नेपाल पठाउने भारतको निर्णयलाई सम्बन्ध पुनःस्थापित गर्न नयाँ दिल्लीको ठूलो अभ्यासको रूपमा लिइएको छ।