भारत र चीन दुबै राष्ट्रसंग संवाद गर : कांग्रेस

57

(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत सीमा विवाद बारे नेपालले दुबै छिमेकी मुलुक भारत र चीनसँग संवाद गर्नुपर्ने बताएको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको नेपाली भूमिबारे कांग्रेसले विगतदेखि नै प्रष्ट दृष्टिकोण अघि सारेको भन्दै प्रवक्ता शर्माले दुबै मुलुकसँग नेपालले गहन संवाद गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । प्रवक्ता शर्माले सोमबार विज्ञप्ति मार्फत सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार भएको बताएको छ ।

महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरा सम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने विज्ञप्तिमा उल्लेख छ । नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप अस्वीकार्य भएको प्रवक्ता शर्माले बताएका छन् ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाउंदै दुबै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै यो बिषयमा दुबै राष्ट्रसंग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको औंल्याउन चाहन्छौं ।

दुबै छिमेकी मित्र राष्ट्र संग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्ने उनले बताए । सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा नहुने भन्दै प्रवक्ता शर्माले दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्च स्तरीय कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

समाचार वर्गहरू