(काठमाडौं) – भू-माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ चन्द समूहले बम विस्फोट गराएको खुलेको छ । काठमाडौँको नागर्जुन नगरपालिका– १ स्थित ढकालको घरमा बुधबार साँझ बम विष्फोट भएको हो ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया ढकालको घरमा चन्द समूहले कुकर बम विस्फोट गराएको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुलेको हो । घटनास्थलमा चन्द समूहका पर्चाहरु भेटिएका छन् ।
महानगरीय प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार बढी क्षति गराउन कुकरभित्र फलामका किला राखिएको अवस्थामा भेटिएको बताए । घटना आज साँझ ७ः१४ मा भएको हो । सो घट्नामा मानवीय क्षति भने भएको छैन । विष्फोटबाट झ्यालका सिसा फुटेको छ भने गेट र पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । चन्द समूहको पर्चामा ’शोभाकान्त ढकाल ललिता निवासको सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपन्चका मुख्य योजनाकार भएकाले उनको घरमा वम विस्फोट गराएको’ उल्लेख छ ।
विस्फोट गराउने टोलीको खोजी गर्न सीआईबी, प्रहरीको विशेष ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बालाजुको टोली खटिएका छन् । यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीले समेत विस्फोट गराउनेको पहिचान गर्न आफ्ना संयन्त्रलाई तैनाथ गराएका छन् । घटनको पूर्ण विवरण आइसकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा शोभाकान्त ढकालको र अधिवक्ता राम सुवेदीको नाममा रहेको पाइएपछि ढकाल उक्त प्रकरणमा मुछिएका थिए ।