भेनेजुएलाका राष्ट्रपति मदुराेको गठबन्धन भारी मतले विजयी, विपक्षीले गरे निर्वाचन बहिष्कार

100
फोटो - एएफपी

काठमाडौं – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सत्तारूढ गठबन्धनले संसद् र प्रादेशिक निर्वाचनमा ठूलो मतान्तरले विजय हासिल गरेको छ ।

आइतबार सम्पन्न सांसद र गभर्नरको निर्वाचनलाई केही विपक्षी समूहले बहिष्कारको आह्वान गरेका थिए । किनकि ती समूहले २०२४ जुलाईमा भएको राष्ट्रपति निर्वाचनको नतिजालाई नक्कली भन्दै अस्वीकार गर्दै आइरहेका छन् ।

यो निर्वाचनपछि भेनेजुएलाको सत्तारूढ युनाइटेड सोसलिस्ट पार्टीले महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालतमा आफ्नो नियन्त्रण कायम राख्न सक्नेछ । किनकि यी दुवै निकायका सदस्य २८५ सदस्यीय सभाबाट चयन हुनेछन् ।

सोमबार नेसनल इलेक्टोलर काउन्सिलका अनुसार राष्ट्रपति मदुरोको युनाइटेड सोसलिस्ट पार्टी र गठबन्धनमा सामेल दलहरुले राष्ट्रिय सभाका सिटका लागि आइतबार भएको मतदानमा ८२.६८ प्रतिशत मत प्राप्त गरेका छन् । सत्तारूढ गठबन्धनले देशका २४ मध्ये २३ राज्यमा गभर्नर पद जितेको पनि नेसनल इलेक्टोलर काउन्सिलले जनाएको छ ।

मदुरोले निर्वाचन नतिजालाई ‘शान्ति र स्थिरताको विजय’ भनेर स्वागत गरेको बताउँदै यसले ह्युगो चावेजको विचारधाराको शक्ति प्रमाणित गरेको बताए ।

विपक्षी समूहको नेतृत्व गरेकी मारिया कोरिना माचाडोले भने निर्वाचन निष्पक्ष नभएको बताउँदै यसलाई नाटकको संज्ञा दिएकी छिन् । उनले निर्वाचनलाई वैधता नदिन आग्रह गरेकी छन् । सामाजिक सञ्जाल एक्समा देशका केही क्षेत्रमा ८५ प्रतिशतसम्म योग्य मतदाताले निर्वाचन बहिष्कार गरेको दाबी गर्दै यो निर्वाचन यसअघिको पराजयलाई गाड्न सत्ताले रचेको नाटक भनेकी छिन् ।

एएफपीका पत्रकारले विभिन्न सहरका मतदान केन्द्रमा भ्रमण गर्दा २०२४ जुलाईको राष्ट्रपति निर्वाचनको तुलनामा यो पटक मतदाता उपस्थिति निकै कम देखिएको रिपोर्ट गरेका छन् ।

नेसनल इलेक्टोलर काउन्सिलले भने योग्य मतदातामध्ये ४२ प्रतिशतभन्दा बढीले मतदान गरेको जनाएको छ । एजेन्सीको सहयोगमा

समाचार वर्गहरू