भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले दिए निर्माण व्यवसायीको खुट्टा भाँच्न ठाडो आदेश

11

काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने निर्माण व्यवसायीको खुट्टा भाँच्न ठाडो आदेश दिएका छन् । नागढुंगा(मुग्लिङ सडक आयोजनाको अनुगमनका क्रममा उनले सरकारका जिम्मेवार अधिकारीहरुलाई यस्तो आदेश दिएका हुन् ।

पश्चिमदेखि पूर्वसम्म निर्माणाधीश सडकहरूको अवलोकन गर्ने क्रममा मन्त्री लम्साल हिजो केहीबेर उक्त सडकखण्डमा रोकिएका थिए । त्यहाँ निरीक्षणका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, आयोजना प्रमुख लगायत पनि सहभागी भए । मन्त्रीले उनीहरूलाई ठेकेदारहरूलाई छिटो काम गराउन निर्देशन दिए ।

भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको निर्देशन 

यहाँको पोलवाला हो नि बिजुलीको पोल‘ त्यो कन्ट्रयाक्टरलाई कहाँ छ, यो धरतीमा जहाँ भए पनि खोजेर ल्याउनु‘ त्यसलाई यहीँ राख‘घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँच्दिनू । मतलब भएन । यिनीहरूलाई चाँडैभन्दा चाँडै पोल सार्नुपर्‍यो । यहाँको पब्लिकले धेरै दुस्ख पायो । तिनीहरूलाई काम गराउनुपर्‍यो राम्रोसँग ।

काम छिटो गराउन मन्त्रीले कर्मचारीतन्त्रलाई झक्झक्याउने कुरा स्वभाविक भए पनि ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने’ निर्देशन गैरकानूनी निर्माण व्यवसायी बताउँछन् । नेपाल निर्माण व्यवसायी महासंघका एक पदाधिकारीले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको टिप्पणी गरे ।

उनले भने, ‘ठेकेदारले सम्झौता बमोजिम काम नगरेको खण्डमा उसलाई सरकारले कानूनी कारबाहीको दायरामा ल्याउन सक्छ । तर, ठेकेदारमाथि भौतिक आक्रमण गर्ने निर्देशन दिनु निन्दनीय हो । यसको हामी घोर भत्र्सना गर्छौँ ।’

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेको बचाउ 

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले सडक अनुगमनका क्रममा भौतिक पूर्वाधारमन्त्रीले काम छिटो गर्न निर्देशन दिएको बताइन् । ठेकेदारको खुट्टा भाँच्ने कुरा आफूले नसुनेको उनको दाबी छ । ‘उहाँको मुख्य आशय बाटो निर्माण छिटो होस् र कुनै पनि पक्षबाट ढिलाइ नहोस भन्ने थियो । बाँकी कुरा त मलाई थाहा भएन ।

माननीय मन्त्रीज्यूसँगै बुझ्दा राम्रो होला,’ उनले भनिन् । ‘सार्वजनिक भएको भिडिओमा मन्त्रीले प्रष्ट शब्दमा खुट्टा भाँच्दिनुस् भन्नुभएको छ, तपाईंले सुन्नुभएन ?’ भन्ने नेपाल प्रेसको प्रश्नमा उनको जवाफ छ, ‘त्यस्तो आशय पटक्कै होइन । कुनै पनि बहानामा ढिलो नहोस्, कतै अवरोध भएमा सैह्य हुँदैन भन्न खोज्नुभएको हो । बाटोमा समस्या छ नि त !

पूर्वपश्चिम हाइवे, व्यस्त रोड भएकाले उहाँले तदारुकता देखाउनुभएको हो ।’ प्रधामन्त्री वालेन्द्र शाहले चुनावअघि एक भाषणका क्रममा ठेकेदारलाई रुखमा बाँधेर भए पनि काम लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

भौतिक पूर्वाधारमन्त्री लम्साल बालेन निकटस्थ हुन् । मन्त्री भएदेखि नै उनले ठेकेदारहरूप्रति कडा रवैया देखाइरहेका छन् । केही निर्माण व्यवसाायीलाई धरपकड गरेर मन्त्रालय लैजाने काम समेत भएका थिए ।

समाचार वर्गहरू