काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शनिबारको बैठकमा आर्थिक वर्ष २०८०\८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले भने, “हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।”
नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताउँदै शर्माले भने “भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ । भ्यूटावरका लागि ? डेढ अर्ब छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइनपानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ ।”
सांसद शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गरे। सांसद शर्माले झापाको दमकमा रहेको सुकुम्बासीको समस्या समाधान गर्न आग्रह गरे। उनले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन मागसमेत गरे।
शर्माले नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ‘प्रतिपक्षी नेताले नक्कली शरणार्थी प्रकरणमा राख्नु भएका अन्य विषयमा समर्थन गरौँला । तर, निर्दोष फसाउने प्रयास भइरहेको छ भन्ने वाक्य प्रयोग गर्नुभयो, को दोषी को निर्दोष प्रहरीले छानबिन गर्दैछ । हामी न्यायाधीश होइनौं यहीबाट फैसला सुनाउनका लागि, अमुक दोषी हुनुहुन्छ भन्ने कुरामा बिमत्ति प्रकट गर्न चाहन्छु’ शर्माले भने ।