काठमाडौं – यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलबारे अध्ययन गर्ने तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
स्टकहोममा भएको एक कार्यक्रमकाबीच स्विडिस एकेडेमीले यस वर्षको भौतिक शास्त्रतर्फको नोबल पुरस्कारहरु भौतिकशास्त्रीहरु रोजर पेनरोज तथा राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई प्रदान गरिने घोषणा गरेको हो ।
भौतिक शास्त्रतर्फ यो १ सय १४ औं नोबेल पुरस्कार हो । एकेडेमीले उनीहरूलाई १० करोड स्विडिस क्रोनर दिने घोषणा गरेको छ। त्यसको आधा रकम पेनरोसले पाउने छन् भने बाँकी गेन्जल र गेजले बाँड्नेछन् ।
नोबेल कमिटीका अनुसार पेनरोजलाई ‘ब्ल्याक होल’को बनोट सापेक्षताको सामान्य सिद्धान्तको एक बलियो पूर्वानुमान हो भन्ने कुरा पत्ता लगाए बापत नोबेल पुरस्कार प्रदान गरिएको हो ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पेनरोसले अल्वर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तअनुसार ब्ल्याक होल बन्ने कुरा पत्ता लगाएका थिए ।
युनिभर्सिटी अफ क्यालिफोर्निया, ब्रेकलीका प्राध्यापक गेन्जल र युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसकी प्राध्यापक गेजले ग्यालेक्सीको केन्द्रमा एउटा अदृश्य तर निकै ठूलो वस्तुले हाम्रो तारामण्डललाई सन्तुलनमा राख्छ भन्ने पत्ता लगाएका थिए । विजेताले गोल्ड मेडल र एक करोड स्विडिस क्रोनर प्राप्त गर्नेछन् ।
सोमबारमात्रै एकेडेमीले चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरेका थिए। चिकित्साशास्त्र तर्फको पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले पाएका थिए ।