भ्रष्टाचारका २५ वटा फाइल खोल्न शक्तिशाली आयोग बन्छ – लामीछाने

4

काठमाडौं – सरकारले कुनै पनि काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न लागेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको शीर्षकमाथिको छलफलमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै सोमबार उनले विभिन्न फाइल खुलिरहेको र पुराना फाइल खोल्न आयोग बनाउन लागेको जानकारी दिए । 

‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारलाई अनुसन्धान गर्न २५ वटा पुराना फाइल एकत्रित गर्दै एउटा शक्तिशाली आयोग गठन गर्ने व्यवस्था यसै वर्षको बजेटमा भएको छ,’ उनले भने, ‘बजेट पास भएको दुई महिनाभित्र विगतमा भएका २५ वटा काण्डको फाइल तयार गर्न शक्तिशाली आयोग बन्न लागेको छ ।’ 

बाँसबारी जग्गा, बालमन्दिर, सहकारीपीडित मुद्दा, सरकारी मुद्दा किर्ते, अनलाइन सट्टेबाजी फाइल खुलेको जानकारी गराउँदै लामिछानेले भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने क्रममा रहेको बताए ।

उनले अगाडी भने ‘बालमन्दिर, स्काउट, बाँसबारीको फाइल बन्द भएको छैन । टीकापुरको फाइल खुलिरहेको छ । बृहत् जनकपुरको नौ हजार बिघा जग्गाको फाइल तयार हुने क्रममा छ । भर्खरै काभ्रेको पतञ्जली आयुर्वेद कम्पनीको फाइल खुलेको छ। यहाँ फाइल तयार गर्नुपर्नेछ । तयार गरेर खोल्नुपर्ने भएकाले अलिकति समय लाग्छ । प्रतिबद्धताबाट दायाँबायाँ हुनेछैन ।’ 

गृहमन्त्री लामिछानेले गिरीबन्धु टि–स्टेटलगायतका विषयमा कानुन उल्लंघन भएको विषयमा आवश्यक अनुसन्धान हुने बताउँदै भने ‘कुनै पनि अपराधका घटनामा सम्भावित अभियुक्त को छ भन्ने आधारमा अनुसन्धान प्रभावित हुँदैन । गिरीबन्धुमा अदालतको आदेशको अक्षरशः पालना हुन्छ । ठगिएको, बैना दिएको जोकोही पनि पीडित हुनुहुन्छ, अप्ठ्यारो परेको सन्दर्भमा मैले सिआइबीलाई अनुसन्धानका लागि भनिसकेको छु ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू