भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुन्न : नेता नेपाल

24

रासस/विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज शुक्रबार बिहान पत्रकारसँगको भेटघाटमा उनले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा गहन अध्ययन गरिरहेको जानकारी दिए ।

इण्डोप्याफिक रणनीतिकै एउटा अङ्ग हो कि भन्ने भ्रमलाई कार्यदलले हटाउने भन्दै उनले एमसिसी नेपालका लागि हित भएकाले यसलाई सरकारले स्वीकृत गर्नुपर्ने धारणा राखे ।
वरिष्ठ नेता नेपालले नेपालसँग राम्रो सम्बन्ध राख्ने मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउन खोजेको चर्चा गर्दै संयुक्त राज्य अमेरिकाले आफ्ना जिडिपीको केही अंश अल्पविकसित राष्ट्रलाई दिनु अधिकारभित्र पर्ने बताए ।

उनले वैदेशिक ऋण र लगानीलाई ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बनाउने महान अभियानमा योजनाबद्ध ढङ्गले खर्च गर्नुपर्ने उल्लेख गर्दै सरकारले आफ्ना कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

समाचार वर्गहरू