(काठमाडौं) – नेपाली कांग्रेसले स्वास्थ्य समाग्रीको आपूर्ति र असंगठित मजदुरहरुलाई राहत प्याकेज तत्काल बाँड्न सरकारसँग माग गरेको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि पार्टीको सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाउने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य सामग्रीको आपूर्ति गर्दा पारदर्शी रुपमा गर्न समेत कांग्रेसले सरकारसँग माग गरेको छ । स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिइएको विषयमा समेत बैठकमा छलफल भएको थियो । कांग्रेसले आपूर्ति व्यवस्थ सहज रुपमा हुन नसक्दा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ ।
भारतका विभिन्न ठाउँमा घर फर्केका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सरकारसँग काग्रेसले माग गरेको छ । सरकारको बेवास्ताका कारण सीमा क्षेत्रमा सयौं नेपालीको विचल्लीमा परेको भन्दै उनीहरुलाई सुरक्षित र व्यवस्थित रुपमा नेपाल आउन ल्याउने व्यवस्था मिलाउन समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
कोभिड—१९ बाट बच्नका लागि लकडाउन बाहेक अर्को विकल्प नभएको भन्दै घरमै बस्नका लागि कांग्रेसले आम जनतासँग अपिल समेत गरेको छ । पार्टीका कार्यकर्ताहरुलाई आ–आफ्नो ठाउँबाट जनताको सेवा र सुविधाका लागि सुरक्षित रुपमा जुट्न समेत कांग्रेसले आह्वान गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीको बैठकको निर्णयहरु :
(१) कोरोनाको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समीक्षा बैठकले गरेको छ । समय पर्याप्त पाएर पनि पर्याप्त तयारी नगरिनुलाई अत्यन्तै दुःखद रूपमा लिंदै बैठकले संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपील गरेको छ ।
(२) बैठकले आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ ।
(३) स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको संघर्षमा सफलता मिल्ने विश्वासका साथ बैठकले देशभरिका स्वास्थकर्र्मीहरु प्रति उच्च सम्मान प्रकट गरेको छ । पीपीई, परीक्षण कीट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपील गरेको छ । बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका सञ्चारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ ।
(४) लक डाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक अपील गरेको छ ।
(५) स्वास्थ सामग्री खरिदमा बजार मूल्य भन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न अपील गर्दै बैठकले अनिवार्य छानबिन र कारबाहीको विषयमा ढिलाई नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
(६) देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने ब्यवस्था मिलाउन बैठकले सरकार समक्ष माग गरेको छ ।
(७) ज्यालादारी श्रमिकहरु धेरैकोमा अझ पनि राहत नपुग्दा जीवन कष्टकर बनेको ध्यानाकर्षण सरकारलाई गराउँदै बेरोजगार र शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीहरुका लागि पनि तत्काल राहत घोषणा गर्न बैठकले माग गरेको छ । साना ठूला सबै ब्यवसायीको ब्यवसायमा लक डाउनले पुऱ्याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज ब्यवहारिक ढंगले ल्याउन बैठकले माग गरेको छ ।
(८) अत्यावश्यक खाद्यान्नको आपूर्ति देखि उत्पादनसम्मको ब्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गर्न/गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । लक डाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न बैठकले सरकार समक्ष माग गरेको छ ।
(९) बैठकले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारहरुलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर हरतरहले नागरिक पंक्तिलाई यो संकटमा सहयोग पु¥याउन स्थानीय सरकारहरुलाई अपिल गरेको छ ।
(१०) विदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै बैठकले विशेष ध्यान पुऱ्याउन सरकारलाई आग्रह गरेको छ । बेलायत र अमेरिकामा कोरोना संक्रमणले मृत्यु भएका नेपालीहरुको परिवारजन प्रति समवेदना व्यक्त गर्दै बैठकले नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको संकट सामना गर्न अपील गरेको छ । विश्वभरिनै कोरोनाले गर्दा जीवन गुमाएका हजारौं मानिसप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
(११) प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न बैठकले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिमा रहेका सबै साथीहरूलाई अपील गरेको छ ।
(१२) कोरोनाको जोखिमसँग जुध्न बैठकले एक विज्ञ समूह निर्माण गरेर निरन्तर समूहको परामर्शमा कार्य गर्ने निर्णय गरेको छ ।
(१३) पार्टीका सबै केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदहरु एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेष रुपले कार्य गर्न बैठकले निर्देशन गरेको छ ।