मंगलबारेमा प्याराग्लाइडिङको सफल परीक्षण

32

मंगलबारे – इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको परीक्षण उडान गरिएको हो ।

प्याराग्लाइडिङको सफल उडानपछि प्याराग्लाइडिङका लागि देश तथा विदेशबाट समेत पर्यटक भित्रिने भन्दै जिल्लाका पर्यटन व्यवसायीहरु खुशी भएका छन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत यसले ठूलो मद्दत गर्ने आशा गरिएको छ । सफल परीक्षण गरेपछि पाइलट(चालक) सानुबाबु सुनुवारले छेलेथुम्की डाँडामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको उडान गर्न सकिने बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वडा पर्यटन विकास समितिको पहलमा छेलेथुम्की डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । समितिका अध्यक्ष हेमन सुनुवारको अध्यक्षता र इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तीर्थ गुरुङ, जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकर, प्याराग्लाइडिङका अग्रज पाइलट सानोबाबु सुनुवार, स्थानीय दलका प्रमुख एवं प्रतिनिधिले शुभकामना व्यक्त गरे ।
अब निरन्तर उडानका लागि प्रक्रिया पूरा गरी यहाँबाट व्यावसायिक उडान गर्ने तयारी गरिएको छ ।

रासस

समाचार वर्गहरू